राजनीति

आम जनता पार्टीबाट पर्सा–२ मा रञ्जु साह उम्मेदवार, परिवर्तनको बलियो दाबी

नवलपुर टुडे
२०८२ माघ ६ | बिहान ११:१० बजे

माघ ५ गते। आम जनता पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ बाट पार्टीकी महिला प्रभावशाली नेतृ रञ्जु साहलाई आधिकारिक उम्मेदवारको रूपमा घोषणा गरेको छ। आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले आज रञ्जु साहलाई उम्मेदवारीको टिकट औपचारिक रूपमा प्रदान गर्नुभएको हो।

पार्टीले जनताको विश्वास जित्न सक्ने, निष्ठावान, इमानदार र संघर्षशील नेतृत्वको आवश्यकता रहेको भन्दै सोही मापदण्डअनुसार रञ्जु साहलाई उम्मेदवार बनाइएको जनाएको छ। आम जनता पार्टीका अनुसार पर्सा–२ मा लामो समयदेखि व्याप्त बेरोजगारी, कमजोर भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा देखिएको विभेद र उपेक्षाको अन्त्य गर्न सक्षम र जनमुखी नेतृत्व अपरिहार्य रहेको छ।

रञ्जु साह सामाजिक सेवा, महिला अधिकार, युवा सशक्तीकरण तथा स्थानीय जनसमस्याको समाधानमा निरन्तर सक्रिय रहँदै आएकी नेतृ हुन्। जनतासँगको प्रत्यक्ष सम्पर्क, स्पष्ट दृष्टिकोण र परिवर्तनप्रतिको प्रतिबद्धताका कारण पर्सा–२ मा आम जनता पार्टीको जनआधार अझ सुदृढ हुने पार्टीको विश्वास छ।

उम्मेदवार साहले पर्सा–२ लाई विकास, सुशासन र सामाजिक न्यायको नयाँ यात्रामा लैजाने प्रतिबद्धता व्यक्त गर्दै भनिन्,
“जनताको दुःख–सुखमा सदैव साथ दिँदै भ्रष्टाचारमुक्त, जवाफदेही र परिणाममुखी राजनीति स्थापित गर्नु नै मेरो संकल्प हो।”

आम जनता पार्टीले पर्सा–२ लाई राजनीतिक परिवर्तनको केन्द्र बनाउने लक्ष्यसहित घरदैलो अभियान, जनसभा तथा संगठन विस्तारमार्फत सशक्त चुनावी अभियान अगाडि बढाउने जनाएको छ। उम्मेदवारी घोषणासँगै पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्।

कमेन्टहरु