जनआवाज संसदमा पुर्याउने दाबी सहित पत्रकार परियारको उम्मेदवारी

आसन्न निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पत्रकार चिन्ता परियारले उम्मेदवारी दिने निर्णय गरेका छन्।
जिल्लामा करिब दुई दशक लामो पत्रकारिता यात्रामा सक्रिय रहेका परियारले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा होमिने तयारीमा जुटेको बताएका छन ।
सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील परियारले जनसरोकारका मुद्दा, सुशासन, पारदर्शिता र आम नागरिकका आवाजलाई प्रतिनिधिसभामा पुर्याउने उद्देश्यका साथ उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।
स्थानीय तहदेखि राष्ट्रिय मुद्दासम्म निरन्तर कलम चलाउँदै आएका परियारले पत्रकारितामार्फत उठाउँदै आएका विषयलाई अब नीति निर्माण तहमा लैजाने चाहना रहेको बताएका छन।
उनले कपिलवस्तु क्षेत्र नम्बर ३ का विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाएको बताएका छन ।
स्वतन्त्र उम्मेदवारीमार्फत जनताको प्रत्यक्ष समर्थन र विश्वास जित्ने लक्ष्यसहित आफू मैदानमा उत्रिन लागेको परियारको भनाई छ । पत्रकारिताबाट राजनीतिक यात्रातर्फ अग्रसर भएका परियारको उम्मेदवारीले कपिलवस्तु–३ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।























