बोन्डी बीच प्रकरणपछि बन्दुकमाथि कडाइ गर्दै अस्ट्रेलिया


मेलबर्न । अस्ट्रेलियाको संसदको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ले बोन्डी बीचमा भएको घातक गोलीकाण्डपछि राष्ट्रिय स्तरमा बन्दुक खरिद फिर्ता कार्यक्रम र हतियार लाइसेन्स आवेदनमा कडा जाँचसम्बन्धी विधेयक पारित गरेको छ । उक्त आक्रमणमा यहूदी पर्वका दिन १५ जनाको ज्यान गएको थियो ।
विधेयकको पक्षमा ९६ मत र विपक्षमा ४५ मत खसेको थियो । अब यो विधेयक माथिल्लो सदन सिनेटमा पेश गरिनेछ । ग्रीन पार्टीको समर्थनमा विधेयक पारित हुने अपेक्षा गरिएको छ ।
बाइब्याक योजनाले ‘अतिरिक्त र नयाँ रूपमा प्रतिबन्धित’ हतियार लक्षित गर्दै अस्ट्रेलियामा दर्ता भएका करिब ४० लाख बन्दुकको संख्या घटाउने लक्ष्य राखेको छ । सन् १९९६ को पोर्ट आर्थर गोलीकाण्डपछि कडा कानुन बने पनि अहिले त्यसबेलाभन्दा बढी बन्दुक हुनु अचम्मको कुरा भएको बर्कले बताए ।
यससँगै बन्दुक आयातमा कडाइ, गुप्तचर निकायबीच सूचना आदानप्रदान सुधार तथा घृणात्मक भाषणविरुद्धका सुधारहरू पनि संसदमा छलफलमा छन् ।























