दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
गुरुकुल र गौशाला संरक्षणार्थ अक्षयकोष स्थापना, धार्मिक सेवा कार्य सम्पन्न


प्रवास दुवई यूएई| झापा, अर्जुनधारा – सनातन धर्म, गौ–सेवा र वैदिक शिक्षाको संरक्षण तथा संवर्द्धनको लागि सनातन गौ संरक्षण अभियान युएईले झापाको अर्जुनधारा नगरपालिका–७ स्थित पावन अर्जुनधारा जलेश्वर धाममा गौशाला तथा गुरुकुल संरक्षणार्थ एक महत्वपूर्ण धार्मिक सेवा कार्य सम्पन्न गरेको छ।

यस पावन अवसरमा गौमाताको सेवा, गुरुकुलीय शिक्षाको निरन्तरता तथा सनातन संस्कृतिको संवर्द्धनका लागि रु. ५१,००० (एकाउन्न हजार) बराबरको अक्षयकोष औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। उक्त अक्षयकोष अभियानकी सचिव सुनीता शर्माको करकमलबाट धाम व्यवस्थापन समितिलाई श्रद्धा, भक्ति र समर्पणका साथ हस्तान्तरण गरिएको थियो।

सचिव सुनीता शर्माज्यूले गौमाता र गुरुकुलको सेवा नै सनातन धर्मको मूल आधार भएको उल्लेख गर्दै, “विदेशमा रहेर पनि मातृभूमि, धर्म र संस्कृतिप्रतिको उत्तरदायित्व बिर्सन नहुने” धारणा व्यक्त गर्नुभयो। उहाँले यस पुण्य कार्यमा सहयोग, प्रेरणा र साथ प्रदान गर्ने सम्पूर्ण दाताहरू, अभियानका पदाधिकारी, सदस्यहरू तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
धाम व्यवस्थापन समिति तथा स्थानीय श्रद्धालु भक्तजनहरूले सनातन गौ संरक्षण अभियान युएईप्रति कृतज्ञता व्यक्त गर्दै, यस प्रकारका धार्मिक तथा सांस्कृतिक सेवा कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

भगवान शिव, माता पार्वती र गौमाताको कृपाले यस्ता पुण्य कार्यहरू निरन्तर विस्तार हुँदै जाऊन् भन्ने मंगलकामनासहित, सनातन मूल्यहरूको संरक्षणमा अभियानको योगदान सदा स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।























