आज समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित ६ कम्युनिस्ट पार्टीद्धारा देशभर प्रदर्शन गर्दै


काठमाडौं । स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको माग गर्दै गठित समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहितको ६ कम्युनिस्ट पार्टीहरुद्धारा गठित केन्द्रीय संयुक्त संघर्ष समितिको आह्वानमा आज माघ ५ गते देशव्यापी विरोध प्रदर्शन आयोजना गरिएको छ। यथास्थितिमा हुने निर्वाचनले देशका विद्यमान समस्या समाधान गर्न नसक्ने ठहर गर्दै समितिले निर्वाचन बहिष्कारलाई केन्द्रमा राखेर आन्दोलन अघि बढाएको हो।
६ वटा कम्युनिस्ट पार्टीहरू सम्मिलित उक्त समितिले सरकारको नीति, कुशासन र विदेशी हस्तक्षेपको विरोध गर्दै देशका सम्पूर्ण जिल्लाहरुमा प्रदर्शन गर्ने जनाएको छ। समितिका अनुसार आजको प्रदर्शनमार्फत जनताको अधिकार, राष्ट्रिय स्वाधीनता र वैकल्पिक राजनीतिक निकासको मागलाई सशक्त रूपमा उठाइने बताईएको छ। समितिले यस आन्दोलनलाई चरणबद्ध रूपमा विस्तार गर्ने बताउँदै पहिलो चरणपछि थप संघर्ष कार्यक्रमहरु घोषणा समेत गरिने स्पष्ट पारेको छ।


















