पेनमा तीव्र गतिको रेल दुघर्टनामा मर्नेको संख्या कम्तीमा ३९ पुग्यो


म्याड्रिड । दक्षिणी स्पेनमा तीव्र गतिको दुई रेल ठोक्किएको घटनामा मर्नेको संख्या बढिरहेको छ। स्थानीय सञ्चार माध्यमले बताएअनुसार कम्तीमा ३९ जनाको मृत्यु भएको छ । अरू दर्जनौं मानिस घाइते भएका छन् । यसलाई एक दशकयता देशको सबैभन्दा खराब रेल दुर्घटना बताइएको छ । मलागाबाट म्याड्रिडतर्फ गइरहेको उच्च–गति रेल लिकबाट खसेर अर्को लिकमा पुगेको थियो । यो रेल म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको रेलसँग ठोक्किएको थियो ।
दुवै रेलमा झन्डै ४०० यात्री र क्रु सवार थिए । कम्तीमा पनि ७३ जना मानिसलाई अस्पताल लगिएको छ । यीमध्ये २४ जना गम्भीर रूपमा घाइते भएको बताइएको छ । गम्भीर घाइते हुनेमा चार जना बालबालिका पनि छन् । अधिकारीहरूले अनुसन्धान सुरु गर्दा घटनालाई अत्यन्तै अनौठो भनेर बताएको स्पेनी यातायात मन्त्री ओस्कार पुएन्टेले भनेका छन् । सरकारले परामर्श गरेका सबै रेलवे विज्ञहरू दुर्घटनाबाट अत्यन्तै चकित रहेको भनिएको छ ।


















