उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ:संयोजक दाहाल

रासस
२०८२ माघ ५ | मध्यान्ह ०१:१० बजे

काठमाडौँ, माघ ५। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेमा अवस्था रहेको बताउनुभएको छ । उहाँले २८६२ औँ सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै सो विषयलाई जोड दिनुभएको हो ।
“तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ, यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो,” संयोजक प्रचण्डले भन्नुभएको छ । उहाँले सोनाम ल्होसारले विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनोस भनी कामना गर्नुभएको छ ।


















