प्रबास

स्पेनमा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

एजेन्सी
२०८२ माघ ५ | बिहान ११:१० बजे

म्याड्रिड । दक्षिणी स्पेनमा दुई वटा उच्च गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरू ७० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ३० जनाभन्दा बढीको अवस्था गम्भीर रहेको स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले बताएका छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

यो दुर्घटना कोर्डाेबा सहर नजिकैको आदामुज क्षेत्रमा भएको हो । मलागाबाट म्याड्रिडतर्फ गइरहेको उच्च गतिको रेल लिकबाट खसेको थियो । उक्त रेल म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको रेलसँग ठोक्किएको रेल सञ्जाल सञ्चालक एडिफले जनाएको छ ।

दुर्घटनामा परेको रेल्वे लिकको गत वर्ष मे महिनामा मात्रै मर्मत गरिएको थियो । मलागा–म्याड्रिड रेल सञ्चालन गर्ने निजी कम्पनी इरियोका अनुसार पहिलो रेलमा करिब ३०० यात्रु सवार थिए । 

 

अर्को रेलमा करिब १०० यात्रु थिए । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । छानबिनबाट निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने बताइएको छ । देशले गहिरो पीडाको रात भोगिरहेको प्रधानमन्त्री पेद्रो सान्चेजले बताएका छन् । उद्धारकर्मीका अनुसार रेलको च्यापिएको भग्नावशेषका कारण उद्धार कार्य अत्यन्त कठिन भएको छ ।

 

कमेन्टहरु