चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र


सोलुखुम्बू, माघ ५। हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ ।
स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुई वटा रेञ्जपोष्ट छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार खुम्बू क्षेत्रमा पछिल्ला दिनमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा निकै तल छ । नाम्चे बजारमा न्यूनतम तापक्रम माइनस ६ देखि ८ डिग्री सेल्सियससम्म पुगेको स्थानीयको भनाइ छ । गोरक्सेप र कालापत्थर क्षेत्रमा तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।


















