पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’


पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७ मतदानस्थलमध्ये ६२ वटालाई ‘अतिसंवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको छ। बाँकी ८५ वटा मतदानस्थललाई संवेदनशील र २० वटालाई सामान्य सूचीमा राखिएको छ।
निर्वाचनको तयारी स्वरूप गत माघ २ गते नै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। ती कार्यालयहरूको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर गस्ती र निगरानी बढाइएको छ।
पर्सा जिल्लामा यसपटक कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। जसमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेका छन्। मतदाताको चाप र भौगोलिक संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन र व्यवस्थापन मिलाइएको छ।























