प्रबास

‘दृश्यम् ३’ छाडेका अक्षय खन्नाले टलीवुडमा गर्दैछन् डेब्यु

एजेन्सी
२०८२ माघ ४ | मध्यान्ह ०२:१० बजे

नयाँ दिल्ली । आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘धुरन्धर’ को सफलतासँगै फिल्ममा रहमान डकैतको दमदार भूमिकामा देखिएका बलिउड अभिनेता अक्षय खन्ना यतिबेला निकै चर्चामा छन् ।फिल्ममा उनको अभिनय मात्रै होइन, एउटा गीतमा उनको इन्ट्री र नाचले समेत सामाजिक सञ्जालमा निकै चर्चा पायो । यही सफलतासँगै फ्यानहरू ‘धुरन्धर पार्ट २’ को प्रतीक्षामा छन् । यसैबिच अक्षय खन्ना टलीवुडमा डेब्यु गर्ने तयारीमा रहेको खबर आएको हो ।

उनी आफ्नो पहिलो तेलुगु फिल्म ‘महाकाली’ को छायाङ्कनमा व्यस्त रहेको बताइएको छ । पौराणिक कथामा आधारित यस फिल्ममा अक्षयले असुरगुरु शुक्राचार्यको भूमिका निभाउँदै छन् । फिल्मको निर्देशन पूजा कोल्लुरुले गरिरहेकी छिन् ।यो प्रशान्त बर्माको सिनेमाटिक युनिभर्स अन्तर्गत निर्माण हुँदैछ । फिल्ममा भूमि शेट्टी मुख्य भूमिकामा देखिनेछिन् । अक्षयको शुक्राचार्य अवतारको पहिलो लुक सार्वजनिक भइसकेको छ ।

लामो सेतो दाह्री र गम्भीर भावमा देखिएका अक्षयको यो रूपलाई दर्शकले निकै मन पराइरहेका छन् । ‘महाकाली’ २०२६ मा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।‘धुरन्धर’को सफलतापछि अक्षयलाई थुप्रै ठुला प्रोजेक्टको प्रस्ताव आइरहेको छ । ‘दृश्यम ३’ छोडेपछि अभिनेता अब नयाँ र चुनौतीपूर्ण भूमिकामार्फत दर्शकसमक्ष प्रस्तुत हुने तयारी गरेका छन् ।यस्तोमा टलीवुड तर्फको उनको नयाँ यात्रा दर्शकका लागि चासोको विषय बनेको छ ।

कमेन्टहरु