आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथन हुने


डुम्रे (तनहुँ), माघ ४। तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते सहिद दिवसका अवसरमा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।
मानुङकोटबाट अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीबेँसी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड सञ्चालन हुनेछ ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिकस्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने कार्य गरेको बताउनुभयो । उहाँका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैँमा पर्यटन सम्भावनाले भरिपूर्ण छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगिरहेको गुरुङको भनाइ छ ।
नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । धावकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उहाँले बताउनुभयो । सहभागी धावकलाई आवश्यक सूचना, मार्गनिर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी नहुने उहाँको भनाइ छ ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट दुई सयभन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७ र रु ५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिने छभने पाँच जना धावकलाई सान्त्वना पुरस्कारस्वरूप रु १६ हजार ७७ प्रदान गरिनेछ ।























