क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र


काभ्रेपलाञ्चोक, माघ ४। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस्तै आगामी वैशाखसम्म बाढीले क्षति पुर्याएको स्थानमा संरचना निर्माण गरिसक्ने जसबाट अब आउने वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्नेगरी साविककै स्थानबाट यातायात सञ्चालन लक्ष्य लिइएको जनाइएको छ ।
यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिराले सडकको विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।
अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको निर्माण गरिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८।५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित० मा निर्माण गर्नेगरी ठेक्का पाएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११।०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको छ । नेपालथोकदेखि बर्खेखोलासम्म ४।९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोडमा निर्माण गर्नेगरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको बताइएको छ ।
क्षतिग्रस्त कुल २९।५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३।२ किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोडबराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको छ ।
क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३|५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।























