ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्णः अमेरिकी राष्ट्रपति ट्रम्प


अमेरिका , माघ ३। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने देशहरूविरुद्ध आर्थिक शुल्क लगाउन सकिने संकेत दिएका छन् । यो टिप्पणी त्यतिबेला सार्वजनिक भएको हो, जब दुई पार्टीका अमेरिकी संसद सदस्यहरू डेनमार्कको राजधानीमा सम्बन्ध सुधार र संवादलाई प्रवद्र्धन गर्न पुगेका थिए।
यसै हप्ता डेनमार्क र ग्रीनल्याण्डका विदेश मन्त्रीहरूले अमेरिकी उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेट गरी विचार विमर्श गरेका थिए । सो भेटले केही मतभेदहरू समाधान गर्न भने सकेन, तर एक कार्यसमूह स्थापना गर्ने सहमति जुटेको छ।
युरोपेली नेताहरूले बारम्बार भनेका छन् कि ग्रीनल्याण्डसम्बन्धी निर्णय डेनमार्क र ग्रीनल्याण्डकै अधिकार क्षेत्रभित्र पर्छ। यसैबिच, डेनमार्कले ग्रीनल्याण्डमा आफ्नो सुरक्षा उपस्थितिलाई सहयोगी मुलुकहरूसँग मिलेर बढाउँदै आएको छ।
सम्बन्धलाई सुदृढ बनाउनु आवश्यक
कपनहेगनमा अमेरिकी संसद सदस्यहरूले डेनमार्क र ग्रीनल्याण्डका सांसदहरूसँग भेटेर विचार विमर्श गरे । डेलावेयरका सिनेटर क्रिस कून्सले २२५ वर्ष लामो मित्रता र साझेदारीको लागि आभार व्यक्त गर्दै भने, “हामीले भविष्यमा सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने विषयमा विस्तृत र सकारात्मक संवाद गरेका छौँ।”
अलास्काका सिनेटर लिसा मर्कोव्स्कीले भने, “ग्रीनल्याण्डलाई हाम्रो मित्र र सहयोगीको रूपमा हेर्नुपर्छ, कुनै सम्पत्ति वा वस्तुको रूपमा होइन। यही दृष्टिकोणले सम्बन्धलाई दीर्घकालीन र सम्मानजनक बनाउँछ।”
ट्रम्पले चीन र रसियाले ग्रीनल्याण्डमा आफ्नो प्रभाव विस्तार गर्ने सम्भावना उल्लेख गर्दै, अमेरिकाका दृष्टिले सो टापु रणनीतिक दृष्टिले महत्वपूर्ण रहेको बताए ।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सेनले भने, “यदि हालको परिस्थितिमा अमेरिका र डेनमार्कबीच छनोट गर्नुपरे, हामी डेनमार्क, नाटो र यूरोपेली सङ्घसँगको सम्बन्धलाई प्राथमिकता दिनेछौं।”
ग्रीनल्याण्डको इनुइट परिषद्की अध्यक्ष सारा ओल्सभिगले भने, “विश्वको ठूलो शक्तिशाली देशले अल्पसंख्यक समुदायलाई कसरी हेर्छ भन्ने विषयमा यसले सन्देश दिन्छ। हामीले यसलाई सम्मान र संवेदनशीलतापूर्वक सम्बोधन गर्न आवश्यक छ।”























