दुबई यूएई, निर्वाचन, न्यायालय, प्रदेश, प्रहरी/सुरक्षा, रोजगार
फुजेरामा नेपाली महावाणिज्यदूतावासको घुम्ती कन्सुलर सेवा, ३१ जनवरीमा सञ्चालन हुने

यूएई— संयुक्त अरब ईमिरेट्सको उत्तर–पूर्वी भेगमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै नेपाली महावाणिज्यदूतावास, दुबईले फुजेरामा एकदिने घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ।
महावाणिज्यदूतावासका अनुसार उक्त सेवा वि.सं. २०८२ माघ १७ गते शनिबार (३१ जनवरी २०२६) का दिन Indian Social Club Fujairah को हल, फुजेरा मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
घुम्ती सेवाअन्तर्गत राहदानी नवीकरण तथा वितरण, राहदानी संकलन, कन्सुलर/वारेसनामा प्रमाणीकरण, श्रम सम्बन्धी गुनासो लगायतका महत्वपूर्ण कन्सुलर सेवा प्रदान गरिनेछ।
राहदानी नवीकरण (पुरानो राहदानी भएमा) का लागि राहदानीको सक्कल प्रति, नेपाली नागरिकताको सक्कल वा स्पष्ट फोटोकपी तथा अनलाइन आवेदन फारम आवश्यक पर्नेछ। यसअन्तर्गत १ वर्षभन्दा कम वहाल अवधि भएका राहदानीको नवीकरण शुल्क २०० दिराम (३४ पृष्ठ) तोकिएको छ।
त्यस्तै, हराएको, नासिएको, च्यातिएको वा क्षतिग्रस्त राहदानी नवीकरणका लागि राहदानी विवरण वा फोटोकपी, नागरिकताको सक्कल वा स्पष्ट फोटोकपी तथा अनलाइन आवेदन फारम आवश्यक हुने र यसको राजश्व ३०० दिराम (३४ पृष्ठ) रहनेछ।
तयार राहदानी संकलनका लागि पुरानो राहदानीको सक्कल प्रति तथा राजश्व तिरेको रसिद अनिवार्य हुने जनाइएको छ भने यस सेवाका लागि कुनै शुल्क लाग्ने छैन। कन्सुलर तथा वारेसनामा प्रमाणीकरण सेवा नियमानुसार प्रदान गरिनेछ, जसको विस्तृत विवरण महावाणिज्यदूतावासको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
यसैगरी श्रम सम्बन्धी गुनासो दर्ता गर्न चाहने सेवाग्राहीले राहदानी, नेपाली नागरिकता वा इमिरेट्स कार्डको सक्कल वा प्रतिलिपि पेश गर्नुपर्नेछ र उक्त सेवा निःशुल्क हुनेछ।
महावाणिज्यदूतावासले राहदानी नवीकरण तथा सोही स्थानबाट तयार राहदानी संकलन गर्न चाहने सेवाग्राहीहरूलाई मोबाइल नम्बर 971566540583 मा अग्रिम सम्पर्क गरी आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ।























