दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति

तामाङ समाज युएईद्वारा सोनाम ल्होछार भव्य रूपमा मनाइँदै

कबिराज राजबंशी
२०८२ माघ २ | मध्यान्ह ०६:१० बजे

IMG 3790

सन् २००५ देखि प्रवासमा रहेर तामाङ समुदायको धर्म, संस्कृति, कला, भेष–भूषा, भाषा, परम्परा, रहन–सहन तथा रीतिरिवाजको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै आएको तामाङ समाज युएई युएईमा रहेका तामाङ समुदायलाई एकताको सूत्रमा बाँध्दै निरन्तर सक्रिय रहँदै आएको छ। प्रवासमा रहे पनि आफ्ना मौलिक धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य–मान्यतालाई जगेर्ना गर्नु समाजको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।

“तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान” भन्ने मूल नाराका साथ समाजले हरेक वर्ष सोनाम ल्होछारलाई विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउँदै आएको छ। सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष मात्र नभई धर्म, संस्कार, प्रकृति र पूर्वजप्रतिको सम्मान झल्किने पर्व हो। यस अवसरमा लामा गुरुहरूको आशीर्वचन, पूजापाठ, सामूहिक प्रार्थना, परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य तथा मौलिक गीत–संगीतमार्फत समुदायको पहिचान उजागर गरिन्छ।

यसै सन्दर्भमा यस वर्ष मञ्जुश्री संवत् २८६२, ता ल्हो – सोनाम ल्होछार को पावन अवसरमा तामाङ समाज युएईले युएईका दुई प्रमुख शहर अबुधाबी र दुबई मा भव्य धार्मिक, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ।

अबुधाबीमा हुने कार्यक्रम २४ जनवरी २०२६ का दिन सुडानी सोसल सेन्टर, अलफलाह मा आयोजना गरिनेछ। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ। यस कार्यक्रममा धार्मिक विधि, सांस्कृतिक प्रस्तुति तथा कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

त्यसै दिन २५ जनवरी २०२६ का दीन दुबईको CLUB SK7, बर दुबई मा दिउँसो १ बजे बाट अर्को कार्यक्रम आयोजना हुनेछ। दुबई कार्यक्रम पनि धर्म, संस्कृति र मनोरञ्जनको सन्तुलित संयोजनका साथ सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित तामाङ जगतका चर्चित फापारे गायक बैरागी मोक्तान, म्हेन्दोमाया गायिका रमिला पाख्रिन, तथा सेलो गायक प्रविन मोक्तान लगायत युएईमा स्थापित तामाङ कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। परम्परागतदेखि आधुनिक शैलीसम्मका (सेलो, म्हेन्दोमाया, खाद्दोके) गीत–संगीतमा DJ Session समेत समावेश गरिनेछ।

तामाङ समाज युएईले युएईमा रहेका सम्पूर्ण तामाङ समुदाय, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई धर्म, संस्कृति र पहिचानको यो साझा उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।

कमेन्टहरु