‘भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का हाेऔँ’


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गरेका छन् ।२८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताए।
मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । उनले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।
“प्रविधिमा आधारित बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सक्दा पूर्वतयारीमा मद्धत पुग्न गई जनधनको क्षति कम हुन्छ”, गृहमन्त्री अर्यालले भने, “भूकम्पीय सुरक्षाका लागि सबै तहका सरकार र नागरिकको तयारी महत्वपूर्ण हुन आउँछ । भूकम्पबाट सुरक्षित घर, समुदाय एवं राष्ट्र निर्माण हामी सबैको जिम्मेवारी बनेको छ ।”
उनले भूकम्पलगायत विपद्बाट सुरक्षित रहन व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको प्रभावकारी र परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताए ।
नेपालले विगतका तुलनामा भूकम्पलगायत विपद् प्रतिकार्यमा क्षमता विकास गरिरहेको जनाउँदै गृहमन्त्री अर्यालले भूकम्पलगायत विपद्सम्बन्धी बुझाइका दायरा पनि विस्तार हुँदै गएको बताए।























