निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल


चितवन, माघ २। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।
फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताउनुभयो । उहाँले भन्नुभयो “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।”
भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताउनुभयो । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उहाँको भनाइ थियो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको रु २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको रु १९ करोड ८९ लाख तथा महानगरपालिकाको रु ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो ।























