देश

निर्वाचनमा युवा पुस्तालाई जिताउनुपर्छ भन्ने प्रधानमन्त्री, मन्त्रीका अभिव्यक्तिहरु आपत्तिजनकः वर्षमान पुन

एजेन्सी
२०८२ माघ २ | मध्यान्ह ०१:१० बजे

काठमाडौँ , माघ २। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन–जी) लाई निर्वाचनमा जिताउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीहरुले सार्वजनिक भाषणहरुमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाई थियो । उहाँले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयो हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिनुभयो । शुक्रवार निर्वाचन आयोगको आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्य शक्ति, राज्यको स्रोत, साधनहरु दुरुपयोग नहोस यसमा असाध्यै ध्यान जाओस निर्वाचन आयोगको । हामी बाहिरबाट सुनिरहेका छौ–प्रधानमन्त्री, मन्त्रीजीहरुको यस्तालाई जिताउनु पर्दछ भनेर भनेको । यस्तालाई हराउनु पर्छ भनेर भनेको भाषण सुनिरहेका छौँ । यसमा कसरी हेर्नुहुन्छ ? अहिलेगैर दलीय सरकार छ । विभिन्न तहका सरकारहरु छन । प्रदेश सरकार, स्थानीय सरकार ।

यसमा आचारसंहितामा राम्रोसँग राखिएको छ । तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ? यसमा निर्वाचन आयोगको भरपर्दो मेकानिज्म बनाउनु पर्ने हुन्छ । अर्को सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ । त्यसमा पनि निर्वाचन आयोगको ध्यान दिनुपर्ने हुन्छ ।’नेता पुनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सूचना प्रविधिको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

कमेन्टहरु