दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, स्वास्थ्य
अबुधाबीमा नेपाली राजदूतावासद्वारा योग दिवसको भव्य कार्यक्रम


प्रबास यूएई— राष्ट्रिय योग दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास अबुधाबीमा आज (माघ १ गते) विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाल सरकारले हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको छ।
यस वर्षको राष्ट्रिय योग दिवसको मुख्य नारा “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” रहेको छ। कार्यक्रममा योग अभ्यास प्रदर्शन, स्वास्थ्य सत्र, ध्यान सत्र र सहभागीहरूका लागि जानकारीमूलक गतिविधिहरू सञ्चालन गरियो।
कार्यक्रममा राजदूतावासका अधिकारीहरू, नेपाली समुदायका सदस्यहरू, योगप्रेमीहरू र स्वास्थ्य सम्बन्धी विशेषज्ञहरूले सहभागिता जनाए। आयोजकहरूले योग केवल व्यक्तिगत स्वास्थ्यका लागि मात्र नभई समाजिक सशक्तिकरण र विश्व शान्तिमा योगदान पुर्याउने माध्यम पनि भएको बताउँदै उपस्थित सबैलाई योग अभ्यासमा सक्रिय हुन प्रेरित गरे।
राजदूतावासका प्रमुख तेजबहादुर क्षेत्री समारोहमा सम्बोधन गर्दै भने, “योग हाम्रो जीवनशैलीको अभिन्न हिस्सा बन्नुपर्छ। व्यक्तिगत स्वास्थ्य, मानसिक शान्ति र समाजिक सद्भावका लागि योगको अभ्यास अत्यावश्यक छ। हामी प्रवासी नेपालीसमुदायमा यस सन्देशलाई अझ व्यापक बनाउन प्रतिबद्ध छौं।”

कार्यक्रममा सहभागीहरूले योगका विभिन्न आसनहरू प्रदर्शन गरे र शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका उपायहरूबारे जानकारी पाए। आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य र योगसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।
राष्ट्रिय योग दिवसको कार्यक्रमले अबुधाबीमा बसोबास गर्ने नेपाली समुदायलाई स्वस्थ जीवनशैली अपनाउन र योगलाई दैनिक जीवनमा समावेश गर्न उत्साहित बनाएको छ।























