दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
यूएईमा माघी पर्व तथा थारू नयाँ वर्ष २६४९ उत्साह, एकता र संस्कृतिको सन्देशसहित भव्य रूपमा सम्पन्न


प्रवास दुवई, यूएई। “थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ यूएईमा माघी पर्व (थारू नयाँ वर्ष २६४९) तथा थारु कल्याणकारिणी सभा यूएईको १२औँ वार्षिक भेला अत्यन्तै उत्साहपूर्ण वातावरणमा भव्य रूपमा ११ January, आईतबारको दिन बर-दुवईको अष्ट्रीया होटल याक एण्ड यति क्लबमा सम्पन्न भएको छ।
कार्यक्रमले प्रवासमा रहेका थारू समुदायलाई मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई आफ्ना मौलिक कला, संस्कृति र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको सहभागीहरूको भनाइ थियो। रंगीन भेषभूषा, मौलिक नृत्य, लोकगीत र सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रम स्थललाई थारू संस्कृतिको जीवन्त केन्द्रमा रूपान्तरण गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि, आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष श्री भागरथी कुमार भगत ले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउनु ठूलो चुनौती भएको उल्लेख गर्दै थारू समुदायले गर्दै आएको सांस्कृतिक अभियान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा पहिचानप्रति चेतना जगाउने र समुदायलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सभापतित्व थारु कल्याणकारिणी सभा यूएईका अध्यक्ष श्री रमानन्द चौधरी ले गर्नुभएको थियो। उहाँले थारू समुदायको एकता, सामाजिक उत्तरदायित्व र सांस्कृतिक निरन्तरताका लागि संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य थारु कल्याणकारिणी सभा यूएईका उपसभापति तथा माघी कार्यक्रम संयोजक श्री महेश चौधरी ले दिनुभएको थियो। उहाँले माघी पर्वको ऐतिहासिक महत्व, थारू नयाँ वर्षको सांस्कृतिक मूल्य र प्रवासमा यस्तो कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रस्ट पार्नुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा उपस्थित राष्ट्रिय स्तरका चर्चित गायक खेम चौधरी ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुम्न बाध्य पार्नुभयो। उहाँको प्रस्तुतिले कार्यक्रमस्थलमा थप ऊर्जा, उमंग र उत्साह थपेको थियो।
साथै थारू समुदायका कलाकारहरूले प्रस्तुत गरेका परम्परागत नाच, गीत र सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। उपस्थित दर्शकहरूले लामो समयसम्म ताली र हर्षध्वनिसहित कलाकारहरूको हौसला बढाएका थिए।
कार्यक्रम सञ्चालन चर्चित गायक तथा अनुभवी प्रस्तोता केशवराज महतो ले दिब्या महतो को साथमा गर्नुभएको थियो। उनीहरूको समन्वय, स्पष्टता र ऊर्जाशील प्रस्तुतीले कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।

समग्रमा, माघी पर्व तथा थारू नयाँ वर्ष २६४९ को यो कार्यक्रमले यूएईमा रहेका थारू समुदायबीच आपसी एकता, सामाजिक सद्भाव र सांस्कृतिक चेतनालाई थप मजबुत बनाएको आयोजक थारु कल्याणकारिणी सभा यूएईले जनाएको छ। आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।























