समाचार

वरिष्ठ समाजसेवी बैजनाथ प्रसाद सिंहको हातबाट दलित बस्तीमा न्यानो कम्वल वितरण

नवलपुर टुडे
२०८२ माघ १ | मध्यान्ह ०४:१० बजे

सर्लाही, धनकौल माघ १ । लायन्स क्लब अफ जनकपुरधाम जानकीको आयोजनामा सर्लाही जिल्लाको धनकौलस्थित दलित बस्तीमा जाडोयामबाट बचाउने उद्देश्यसहित न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ नेपाली कांग्रेसका नेता वरिष्ठ समाजसेवी बैजनाथ प्रसाद सिंहको करकमलबाट गरिएको हो। सो अवसरमा विपन्न, असहाय तथा दलित समुदायका ४८ परिवारलाई लक्षित गरी न्यानो कम्बल वितरण गरिएको लायन्स क्लबले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ समाजसेवी सिंहले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै लायन्स क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर रूपमा जनसेवामा समर्पित रहँदै आएको बताए। उनले यस्ता मानवीय कार्यक्रमहरूले समाजमा आपसी सद्भाव, सहकार्य र मानवताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

सिंहले यसअघि धनकौलस्थित बैजनाथ आमा तथा बाल अस्पतालको स्थापनाका लागि १२ कठ्ठा निजी जग्गा दान गरिसकेको  मधेश प्रदेश नेपाली कांग्रेसका सूचना तथा सञ्चार प्रचार–प्रसार विभागका सचिव निकेश त्रिपाठीले दिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। न्यानो कम्बल प्राप्त गरेका लाभग्राहीहरूले कठ्याङ्ग्रिने जाडोयाममा सहयोग प्राप्त भएको भन्दै लायन्स क्लब अफ जनकपुरधाम जानकीप्रति हार्दिक आभार व्यक्त गरे।

लायन्स क्लब अफ जनकपुरधाम जानकीले आगामी दिनहरूमा पनि सामाजिक, मानवीय तथा सेवा–मुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ।

कमेन्टहरु