प्रबास

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २८ जनाको मृत्यु

एजेन्सी
२०८२ पुस ३० | मध्यान्ह ०४:०९ बजे

काठमाडौं । थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा ६४ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 
 
बुधबार बिहान बैंककको नोङ नाम खुन स्टेसनबाट देशको उत्तरपूर्वी प्रान्त नाखोन रात्चासिमातर्फ छुटेको रेलमा क्रेन खसेको थियो । क्रेन खस्दा रेल नै आधा चिरा भएको थियो । थाइल्याण्डलाई चीनसँग जोड्ने तीव्र गतिको रेल्वे ट्र्याक निर्माणको काममा उक्त क्रेन प्रयोग गरिएको थियो ।

क्रेन खस्दा रेलको एउटा डब्बा लिकबाट बाहिर खसेको र अर्कोमा आगो लागेको बताइएको छ । दुघर्टनाको समयमा रेलमा अधिकांश विद्यार्थी र कामदारहरू सवार थिए । अधिकारीहरूले मृतकको पहिचान गरिरहेको र घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थाइल्याण्डका उपप्रधान तथा यातायात मन्त्री फिपट रत्चकितप्रकर्णले जानकारी दिएका छन् । स्टेट रेल्वे अफ थाइल्यान्डका गभर्नरले यस घटनामाथि विस्तृत छानबिन गर्न आदेश दिएका छन् । 

कमेन्टहरु