बेनीमा आजदेखि ‘खाना महोत्सव’


म्याग्दी, पुस ३०। माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो ।
महोत्सवमा स्थानीय उत्पादनको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुहुने जनाइएको छ । महोत्सव उद्घाटन अघि बेनीमा सांस्कृतिक झाँकीसहितको रियाली निकालिने तयारी भएको छ ।
महोत्सव सञ्चालनका लागि रु २१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । कक्ष भाडा, प्रायोजक र सहयोगमार्फत आर्थिक सहयोग जुटाएर निःशुल्क महोत्सव अवलोकनको व्यवस्था मिलाइएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।
कक्ष निर्माणका साथै सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर सुरक्षाको तयारी पनि गरिएको जनाउँदै उहाँले मेलालाई म्याग्दीको साझा कार्यक्रम बनाइएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घले हरेक तीन|तीन वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघेसङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ ।
म्याग्दीमा बाहुल्य बसोबास रहेको मगर समुदायले माघे र साउने सङ्क्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघेसङ्क्रान्ति हो ।
साउन सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई वर्खा सुरु हुने दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको जिल्ला सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि नै माघेसङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।























