प्रहरी/सुरक्षा

राष्ट्रभक्तिको सन्देश बोकेको पूर्व-पश्चिम झण्डा मार्च कपिलवस्तुमा प्रवेश

नन्द किशोर कुर्मी (लालु)
२०८२ पुस ३० | बिहान ११:०९ बजे

सशस्त्र प्रहरी बल,नेपालले ‘२५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)-२०८२’ का अवसरमा सुरु गरेकाे झण्डा मार्च कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ काे सिमावर्ती क्षेत्रकाे सिमा स्तम्भ हुँदै अगाडी बढेकाे छ । सशस्त्र प्रहरी बल विजयनगरका सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठले बिहान साढे ७ बजेबाट झण्डा मार्च टाेली हिडेकाेे जानकारी दिए ।

बुधबार सशस्त्र प्रहरी बल विजयनगर, जवाबैराठ र सिमा सुरक्षा गुल्म कृष्णनगर सहितकाे टाेली झण्डा मार्चमा सहभागी हुँदै अगाडी बढेकाे छ । झापाको मेची पुल र कञ्चनपुर गड्डाचौकी सीमा ईलाकाबाट पुस २० गतेदेखि ‘पूर्व-पश्चिम झण्डा मार्च कार्यक्रम’ सुरु भएको थियोे ।

देशको सीमा सुरक्षा, राष्ट्रिय एकता, अनुशासन र सशस्त्र प्रहरी बलको भूमिकालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मार्चमा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूको उल्लेखनीय सहभागिता छ । 

झण्डा मार्चका क्रममा राष्ट्रिय झण्डासहित अनुशासित ढंगले मार्च गर्दै सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई शान्ति, सुरक्षा र राष्ट्रप्रतिको जिम्मेवारीबारे सन्देश प्रवाह गरेको छ । स्थानीयवासीले पनि कार्यक्रमप्रति उत्साहजनक समर्थन जनाउँदै सशस्त्र प्रहरी बलको योगदानको प्रशंसा गरेका छन् ।

२५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजना गरिएका यस्ता कार्यक्रमहरूले संगठनको व्यावसायिकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धता थप बलियो बनाउने विश्वास लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङ, दाङका सशस्त्र प्रहरी उपरीक्षक मनाेज धितालकाे नेतृत्वमा झण्डा मार्च कार्यक्रम यहाँ अगाडि बढेकाे छ ।

कमेन्टहरु