कपिलवस्तुको विजयनगरकाे दोस्रो गाउँसभाको आठौँ (हिउँदे) अधिवेशन सम्पन्न

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे दोस्राे गाउँसभाकाे आठौँ अधिवेशन (हिउँदे अधिवेशन) सफलता पुर्वक सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहल खडैचामा गाउँपालिकाकाे हिउँदे अधिवेशन भएको हाे सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था र विजयनगर गाउँपालिकाका समग्र कार्यालयगत गतिविधिबारे सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले प्रस्तुतीकरण गरेेका थिए ।
यस्तै गाउँसभा उपाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी थारूले विजयनगर गाउँपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ सभामा पेश गरेकी थिइन् । साे विधेयक सभाले सर्वसम्मतिले पारित गरेकाे हाे ।
यसैगरी गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले गाउँपालिकाको नियमित कामकाजलाई व्यवस्थित, पारदर्शी तथा यथार्थपरक बनाउनका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२, बेरुजु फर्स्योट कार्यविधि, २०८२, लेखा समिति कार्यसञ्चालन कार्यविधि, २०८२ तथा गाउँसभाको सचिवालय सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ सभामा पेश गरे हुन् । उनले प्रस्तुत गरेका सबै ऐन तथा कार्यविधिहरू सर्वसम्मतिले पारित भएको गाउँपालिकाले जनाएको छ ।
अधिवेशनको अन्त्यमा विविध विषयहरूमा छलफल गर्दै सभाले स्थानीय तहको सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।























