कपिलवस्तुको बाणगंगामा तीनदिने नगरस्तरीय सातौं माघी महोत्सव हुने


कमल चौधरी
कपिलवस्तु, पुस २९ । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि कपिलवस्तुको बाणगंगा नगरपालिकामा नगरस्तरीय माघी महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा हुन लागेको सातौ माघी महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
मंगलबार एक कार्यक्रमका बीच महोत्सव स्थलमै आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवबारे औपचारिक जानकारी गराइएको हो । यस वर्षको माघी महोत्सव बाणगंगा नगरपालिका–२ लखनपारा, धनकौलीस्थित पूर्व डम्पिङ क्षेत्र चाकलचौडामा आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम चौधरीले बताए ।
त्यस्तै, पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले थारु समुदायको भाषा, संस्कृति र परम्परा पछिल्ला दिनहरूमा लोप हुदै गइरहेको अवस्थामा यसको संरक्षण गर्न माघी महोत्सवलाई निरन्तरता दिइएको बताए ।
उनले माघी पर्व केवल मनोरञ्जनको पर्व मात्र नभई थारु समुदायको अधिकार, पहिचान र आत्मसम्मानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसलाई अझ व्यवस्थित र भव्य रूपमा मनाउँदै लैजान आवश्यक रहेको धारणा व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलराम भुसालले थारु समुदायको माघी पर्व आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले माघीले समुदायभित्र एकता कायम गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र सहकार्यको भावना विकास गर्ने भएकाले यस्ता सांस्कृतिक पर्वहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै उनले पत्रकार महासंघले महोत्सवको सफल बनाउनको लागि आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलन थारु कल्याणकारिणी सभा बाणगंगाका नगर कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार तथा मिडिया संयोजक सरिता चौधरीले गरेकी थिइन् ।
साथै, यस वर्षको माघी महोत्सवमा थारु संस्कृतिलाई झल्काउने विविध कार्यक्रमहरू समावेश गरिएका छन् । महोत्सवअन्तर्गत थारु सांस्कृतिक झाकी ¥याली, विभिन्न सांस्कृतिक प्रस्तुति, थारु परम्परागत खानपिनको प्रदर्शनी तथा बिक्री, थारु समुदायका सीप तथा हस्तकलाको प्रदर्शन जस्ता कार्यक्रमहरू सञ्चालन गरिने छन् । त्यसैगरी महोत्सवमा थारु संस्कृतिक झुमरा नाच, मयूर नाच, सजनी–विरहनी गीत, रेकर्ड डान्स हुनुको साथै राष्ट्यि तथा स्थानिय कलकारको समेत विजोड प्रस्तुति रहने अयोजकले जनाएको छ ।
त्यसैगरी, समाजमा योगदान पु¥याएका सेवा वृत्तका कर्मचारीहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम समेत समावेश गर्नुको साथै, महोत्सवको पूर्वसंध्यमा पहिलो दिन अर्थात् माघ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको थारु कल्यणकारी नगर सभाका सचिव सृजना थारुले बताईन । उनले सामाजिक सद्भाव, सहयोग र मानव सेवाको भावना अभिवृद्धि गर्ने विश्वास सहित प्रत्येक बर्ष माघीको पूर्वसंन्धमा रक्तदान कार्यक्रम सहित महोत्सवको सुरुवात गर्दै आएको जानकारी दिईन ।























