मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनको निर्देशन

उमेश रोकाया
२०८२ पुस २९ | मध्यान्ह ०३:०९ बजे

बाजुरा, पुस २९ ।  जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै इजाजत प्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुक सहितका हातहतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरेको हो ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार तोकिएको म्यादभित्र हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।

‎निर्वाचनका बेला हातहतियारका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम, डरत्रास र अशान्ति न्यूनीकरण गर्दै जिल्लामा शान्ति-सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनको भनाइ छ । साथै, निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको भन्दै प्रशासनले सबैमा अपिल गरेको छ ।

कमेन्टहरु