विश्व

भेनेजुएलामा तेल लिन गएका चिनियाँ जहाज एशियातर्फ फर्किए

एजेन्सी
२०८२ पुस २९ | मध्यान्ह १२:०९ बजे

बेइजिङ । भेनेजुएलाबाट तेल ल्याउन गएका चिनियाँ झण्डाबाहक दुई विशाल तेलबाहक जहाज बाटोबाटै फर्किएका छन् । एलएसईजीको ढुवानी तथ्यांकअनुसार सोमबार सिङ्गे र थाउजन्ड सन्नी नामका ती जहाजहरू एशियातर्फ फर्किएको देखिएको हो ।भेनेजुएलाको तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्ध र त्यहाँको राजनीतिक संकटका कारण ती जहाजहरू हप्तौँसम्म आन्ध्र महासागर क्षेत्रमा अड्किएर बसेका थिए । अन्ततः तेल लोड नगरी रित्तै फर्किनुपरेको हो ।

भेनेजुएलामा पछिल्ला राजनीतिक घटनाक्रमसँगै यो अवस्था सिर्जना भएको बताइएको छ । जनवरी ३ मा अमेरिकाले भेनेजुएलामा कारबाही गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको घटनापछि तेल आपूर्ति झनै जटिल बनेको हो ।

 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएको साता जहाजहरूमा अड्किएर बसेको करिब ५० लाख ब्यारेल भेनेजुएली तेल बिक्री गर्ने घोषणा गरेका थिए । चीनले पाउने तेलबाट उसलाई बञ्चित गरिनु नहुने टिप्पणी पनि ट्रम्पले गरेका थिए । तर तेल आपूर्ति कसरी गरिने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।

 

गत महिनायता चीनले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएबाट तेल प्राप्त गर्न सकेको छैन । अमेरिकाले गएको महिना पीडीभीएसएविरुद्ध तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यसैबीच भिटोल र त्राफिगुरा लगायतका बहुराष्ट्रिय ट्रेडिङ हाउसहरूले अमेरिका, भारत र चीनजस्ता गन्तव्यतर्फ पठाउन तेलबाहक जहाज तयारी अवस्थामा राखेको समाचारहरूमा जनाइएको छ । 

कमेन्टहरु