देश

रौतहटमा बोलबमको तीर्थालु सवार गाडी दुर्घटना, एक जना तिर्थालुको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन २५ | बिहान ०८:०४ बजे

रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजे भएको दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको हो।

चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ ।
बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना तीर्थालुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो ।

उक्त गाडीमा करिब २० जना सवार रहेको थियो । नहरमा खसेका १३ जनाको उद्धार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

कमेन्टहरु