देश

कपिलवस्तुको विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग

धर्मेन्द्र कुमार कुर्मी
२०८२ पुस २८ | मध्यान्ह ०८:०९ बजे

कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किड्स संस्थाद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत स्वास्थ्य चौकी (OTC Center) सुदृढीकरण तथा स्वास्थ्य आमा समूहका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

परियोजनामार्फत स्वास्थ्य चाैकीलाई मुआक टेप ४६ थान, डिजिटल वेट मेसिन ३ ओटा, टाइमर ३ थान, रक्तचाप जाँच मेसिन ६ ओटा, प्लास्टिक कुर्सी ४० ओटा, टेबल ७ ओटा, बेड म्याट्रेस १ ओटा, टिन बाकस २७ ओटा, त्रिपाल २७ ओटा, उचाइ र चौडाइ नाप्ने स्केल २ ओटा तथा दराज १ ओटा उपलब्ध गराइएको छ ।

किड्सका कार्यक्रम संयाेजक असगर हुसेन धुनियाले विजयनगर गाउँपालिकाभित्र रहेका खुरुहुरिया स्वास्थ्य चौकी, बद्धौर आधारभूत स्वास्थ्य सेवा केन्द्र र पत्थरदेइया स्वास्थ्य चौकीलाई उक्त सामग्री प्रदान गरिएको जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले स्वास्थ्य चाैकीलाई उपलब्ध गराइएका सामग्रीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । उनले विशेषगरी आमा तथा बाल स्वास्थ्य सेवामा यस सामग्रीले अझै प्रभावकारी हुने विश्व व्यक्त गरे ।

सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्षहरू अनवर मोहम्मद मुसलमान, इन्नर थारु, प्रेम बहादुर कलवार, किड्सका कर्मचारी, बिविता विश्वकर्मा, राधिका केसी लगायतको उपस्थिति थियो ।

यस परियोजनाले समुदायस्तरमा स्वास्थ्य सचेतना र सेवामा नागरिककाे पहुँच विस्तार हुने अपेक्षा गरिएको खुरुहुरिया स्वास्थ्य चाैकीका प्रमुख कृष्ण कुमार चाैहानले बताए ।

 

 

कमेन्टहरु