मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखाङ्कन स्वीकृत


डुम्रे (तनहुँ), पुस २८। गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखराको पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर सडक निर्माणका लागि रेखाङ्कन स्वीकृत भएको हो ।
अहिले भइरहेको सडकलाई विस्तार गर्न प्राविधिक समस्या रहेकाले मस्र्याङ्दी र त्रिशूली नदीमाथि दुई वटा पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । “मुग्लिन–आँबुखैरेनी सडकखण्डअन्तर्गत कूल नौ दशमलव ३८४ किलोमिटरमध्ये मर्स्याङ्दी नदी पारि चार दशमलव ४५६ किमी नयाँ सडक निर्माण हुनेछ”, ढकालले भन्नुभयो, “सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पूरा गरिसकिएको छ । यो आयोजनाको सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।”
एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा गोर्खातर्फ करिब पाँच किमी सडक निर्माण हुनेछ । मस्र्याङ्दी वारिपारि दुई–दुई लेनका सडक निर्माण हुनेछन् । “यो मुग्लिन–पोखरा सडकखण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ”, निर्देशक ढकालले भन्नुभयो ।
आयोजनाका अनुसार अहिले सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइनेछ । मर्स्याङ्दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने आयोजना कार्यालयले जनाएको छ । त्रिशूली नदी र मर्स्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने ढकालले जानकारी दिनुभयो ।
यो आयोजनाले गोर्खाको सहिदलखन गाउँपालिकालाई पनि छुनेछ । निर्देशक ढकालका अनुसार आयोजनाको कूल लागत रु तीन अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ । पृथ्वीराजमार्गमा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडक विस्तार गर्न सम्भव नभएपछि यो आयोजनाका लागि मर्स्याङ्दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ ।
साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन हुनुका साथै गोर्खातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति नहुने भएकाले नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ । यसले गोर्खातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।
मुग्लिनमा त्रिशूली नदीमाथि १२० मिटर लामो पुल र मर्स्याङ्दी नदीमाथि १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्नेछ । सरकारले विसं २०७५ मर्स्याङ्दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखाङ्कन स्वीकृत गरेको थियो ।























