कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टी संगठन झन बलियो हुन्छः महामन्त्रीद्वय


काठमाडौँ, पुस २७। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिनुभयो । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुहुने तय भएको छ । विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसक्नुभएको आयोजक समितिले जनाएको छ । सहभागी प्रतिनिधिको नाम दर्ता अहिले बिहान ८ः०० बजेदेखि कार्यक्रमस्थल भृकुटीमण्डप मूल ढोकासँगैको प्रदर्शनकक्षहरूबाट हुने व्यस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेको छैन ।
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको कांग्रेस विधानको धारा १७ ९२० अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गर्नुभएको छ । उहाँहरूले संयुक्त विज्ञप्तिमार्फत विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उहाँहको भनाइ छ ।
महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवं प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभएको छ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ ।























