देश

स्थगित एमाले बैठक आज बस्दै, दशौं महाधिवेशनको तयारीमा केन्द्रित रहेर छलफल हुने

जगत ठाडा मगर
२०७८ साउन २५ | बिहान ०८:०४ बजे

काठमाडौं । आज नेकपा (एमाले) को स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बिहान ११ बजे बोलाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने बताए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसोको तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

बैठकमा दशौं महाधिवेशनको तयारीमा केन्द्रित रहेर निर्णय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुन्छ । विधान अधिवेशन पनि तोकिएकाले त्यो निर्णय पनि हुन्छ’, भट्टराईले भने । भदौ अन्तिम साता विधान अधिवेशनको मिति तय गरिएको छ ।

अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् । गएको शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ ।

तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने नेपाल समूहका नेताहरुले अडान लिदै आएका छन् ।

कमेन्टहरु