ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता


ढोरपाटन (बागलुङ), पुस २७। अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालय घुम्ती पढाइका लागि बँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन् ।
अघिल्लो वर्ष पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म बिदा हुने गरे पनि यसपाली नगरपालिकाको वार्षिक क्यालेण्डरअनुसार चल्दा समस्या भएको प्रअ अदैले बताउनुभयो । ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।
अघिल्ला वर्षमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने गरेका भए पनि यस वर्ष चिसोमा कठ्याङ्ग्रिँदै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ अदैले बताउनुभयो । अघिल्लो वर्षदेखि कक्षा १० सञ्चालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युसन पढाएको उहाँको भनाइ छ । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको यस विद्यालयमा अहिले १६८ विद्यार्थी अध्ययनरत छन् ।
“चिसोले पानी जमेको छ, बालबालिका बिरामी पर्ने गरेका छन्, एकैदिन १५–२० विद्यार्थी बिरामी हुँदा पठनपाठनमा समस्या हुने गरेको छ, पोहोरपरार त यो बेलामा बिदा हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिले बर्खामा पढाउने र यो बेला बन्द गर्ने गथ्र्यौैँ, हिउँदमा पठनपाठन गर्न थालेको यसपालि पहिलोपटक हो, तर निकै गाह्रो भइरहेको छ ।”
चिसोका कारण हातखुट्टा कठ्याङ्ग्रिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताउनुभयो । जाडोले विद्यालय जावतजावत गर्न गाह्रो हुने गरेको उहाँको भनाइ छ । जाडोका कारण पुस लागेपछि दुई तीन पटक बिरामी परेको विकले बताउनुभयो । ढोरपाटनमा अधिकांश विपन्न वर्गका बालबालिकाले पढ्ने गर्छन् । ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटले विद्यालयसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताउनुभयो । शिक्षकहरूकै राय लिएर वार्षिक क्यालेण्डर बनाएको उहाँको भनाइ छ ।























