थारु बस्तीमा बढ्यो माघीको चहलपहल


कञ्चनपुर, पुस २६। थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ ।माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् । महिलाहरू घरआँगनमा बसेर पातका दुना–टपरी बनाउन व्यस्त छन् । “माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने चलन छ”, कृष्णपुर नगरपालिका–२, वाणिका दुर्गा चौधरीले भन्नुभयो, “यसले थारु समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँछ ।”
“माघीका लागि महिलाहरू घरघरमा अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्”, शुक्लाफाँटा नगरपालिका–२ का पूर्व बरघर भरतबहादुर चौधरीले भन्नुभयो, “घरका पुरुषहरू सुँगुरको जोहोमा लागेका छौँ ।” उहाँका अनुसार केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न भइरहेका छन् । बालबालिकादेखि वृद्धसम्मको सहभागितामा हुने यी तयारीले गाउँमा सामूहिकताको भावना बलियो बनाउने उहाँको भनाइ रहेको छ ।
साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थालिसकेको छ । “मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण झन जीवन्त बनेको छ”, शुक्लाफाँटा नगरपालिका–७ का कालुराम डगौराले भन्नुभयो, “युवायुवतीहरू माघीमा देखाउने नृत्यको अभ्यासमा जुटेका छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसिरहेका देखिन्छन् ।”
माघी पर्वमा विवाहित चेलीबेटीहरूलाई माइती बोलाउने चलन रहेकाले उनीहरूलाई निम्ता दिन थालिएको छ । पर्वको स्वागतमा थारु बस्तीका कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन् । आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ । गाउँका साझास्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका–३ का बरघर राजु चौधरीले जानकारी दिनुभयो ।
कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ । माघी पर्वलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ । “पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, आपसी सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारु समाजमा गहिरो छ”, जोनापुर गाउँका बडघर सुरेश चौधरीले भन्नुभयो । उहाँका अनुसार अनुसार माघी केवल खानपान र रमाइलोमा सीमित पर्व होइन, यो थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ । माघीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये गाउँको नयाँ नेतृत्व चयन हो । माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिन्छ ।























