नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ६ देशका अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालयसहित, भारत, संयुक्तराज्य अमेरिका, इण्डोनेसिया, नेदरल्याण्डका विश्वविद्यालयका विज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । ‘दिगो भविष्यको लागि नवप्रवर्तनः हरित प्रविधि र बहुविषयक अनुसन्धान प्रवृत्तिको उन्नति’ विषयमा दुई दिनसम्म सम्मेलन सञ्चालन हुने अधिकारीको भनाइ छ ।
सम्मेलनमा दिगो विकास र हरित प्रविधिमा आधारित अनुसन्धान प्रस्तुति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुसँग अन्तरक्रिया, बहुविषयक अनुसन्धानका नयाँ प्रवृत्तिमाथि कार्यपत्र प्रस्तुति, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी विचार विमर्श हुने उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा प्रेमनारायण अर्यालले यस खालका कार्यक्रमले विश्वविद्यालय तथा अनुसन्धानकर्तालाई अनुसन्धानमा सहभागी हुन प्रोत्साहन गर्ने बताए । अनुसन्धानकर्ताले अनुसन्धानका क्रममा भोगेका र देखेका कठिनाइ तथा राम्रा कुराको विस्तारमा समेत अन्तरराष्ट्रिय सम्मेलनले सघाउने अर्यालयको भनाइ छ ।
हरेक विश्वविद्यालय र कलेजले आफ्नो बजेटको केही हिस्सा अनुसन्धानका लागि विनियोजन गर्नुपर्ने अर्यालको भनाइ छ । पोखरा विश्वविद्यालयले बर्सेनि अनुसन्धानका लागि बजेट विनियोजन गरी विभिन्न विषयमाथि अध्ययन अनुसन्धानमा खर्च गर्ने गरेको उपकूलपति अर्यालले बताए । अबको शिक्षा पनि अनुसन्धानमा केन्द्रित पार्न जोड दिँदै उनले अनुसन्धानले जीवन जीउने पद्दति सिकाउने बताए ।
कार्यक्रममा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्राडा इञ्जिनियर हरि भण्डारीले कलेजले अनुसन्धानलाई प्राथमिकता दिँदै गत वर्षबाट अनुसन्धान सम्मेलन सुरु गरेको बताए । विभिन्न सङ्कायमा अध्यापन गराउँदै आएको अक्सफोर्ड कलेजको मुख्य उद्देश्य भनेको विद्यार्थीलाई अनुसन्धान केन्द्रित सीप प्रदान गर्दै भविष्यका लागि योग्य जनशक्ति तयार पार्नु भएको भण्डारीको भनाइ छ ।
दुई दिनसम्म चल्ने अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलनले शनिबार नवलपुर घोषणापत्र जारी गर्नेसमेत भण्डारीले बताए ।























