वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री


काठमाडौँ, पुस २५। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरुका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिनुभयो । कृतिम बौद्धिकता, इन्टरनेटलगायतको प्रयोगबाट हुनसक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई उहाँले सचेत गराउनुभयो ।


















