इरानमा ट्रम्पको नामबाट राखियो एक सडकको नाम, अमेरिकाले दियो यस्तो प्रतिक्रिया


तेहरान । इरानमा सरकारविरोधी प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ । विरोध प्रदर्शन अन्त्य हुने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन ।मानव अधिकार कार्यकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार देशभर जारी विरोध प्रदर्शनमा दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भइसकेको छ ।
२८ डिसेम्बरमा सुरु भएको विरोध प्रदर्शन हाल देशको ३१ प्रान्त र १११ सहरमा फैलिएको छ । अहिलेसम्म ६० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने दुई हजार दुई सयभन्दा बढीलाई गिरफ्तार गरिएको जनाइएको छ ।
यसैबिच एक अज्ञात प्रदर्शनकारीले तेहरानको एउटा सडकको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामकरण गरेका छन् । उनले उक्त सडकमा ‘ट्रम्प स्ट्रिट’ लेखिएको बोर्ड राखेका छन् ।
यसबारे अमेरिकी विदेश विभागले आफ्नो फारसी एकाउन्टबाट सामाजिक सञ्जालमा प्रतिक्रिया दिएको छ । अमेरिकी विदेश विभागले लेखेको छ, ‘हामी तेहरानका एक अज्ञात व्यक्तिद्वारा राष्ट्रपति ट्रम्पको नामबाट एउटा सडकको नामकरण गरेको कदमलाई प्रशंसा गर्दछौँ । अमेरिका इरानी जनताको आवाज र आकांक्षालाई सम्मान गर्दछ । हामी अधिक स्वतन्त्रता, समृद्धि र अवसरहरू हासिल गर्ने उनीहरूको प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ ।’























