प्रबास

यशको जन्मदिनमा ‘टक्सिक’ को टिजर सार्वजनिक

एजेन्सी
२०८२ पुस २४ | मध्यान्ह ०१:०९ बजे

मुम्बई । ‘रकिङ स्टार’ को रूपमा परिचित कन्नड सुपरस्टार यश बिहीबार (जनवरी ८) आफ्नो ४० औँ जन्मदिन मनाउँदैछन् । यस विशेष अवसरमा फिल्म ‘टक्सिक’ का निर्माताले उनको चरित्रको टिजर र लुक्स सार्वजनिक गरेका छन् । जसमा उनको पात्रको नाम पनि खुलासा गरिएको छ ।

निर्माताले २ मिनेट ५१ सेकेन्डको एउटा लामो भिडियो सार्वजनिक गरेका छन् । भिडियोको सुरुवातमा एउटा चिहान (कब्रिस्तान) मा कसैलाई गाडिँदै गरेको देखाइएको छ । त्यहाँ उपस्थित सबैका हातमा हतियार र बन्दुकहरू छन् । साथै, एउटा फ्ल्यासब्याक कथा पनि चलिरहेको छ ।

त्यत्तिकैमा एउटा तीव्र गतिको कार त्यहाँ आउँछ र रूखमा ठोक्किएर रोकिन्छ । कारबाट एक मात्तिएको मान्छे निस्कन्छ, जसले विस्फोटक पदार्थ त्यहाँ राखेर चिहानको गेटसँग कनेक्ट गरी जान्छ ।

त्यसपछि जब चिहानमा विस्फोट हुन थाल्छ, कारबाट यश शर्टलेस (नाङ्गो शरीर) मा निस्कन्छन्। त्यसपछि लामो कोट र हातमा बन्दुक लिएर यश आफ्नो चिरपरिचित अन्दाजमा देखिन्छन् । फिल्ममा यश ‘राया’ को भूमिकामा देखिनेछन् । निर्माताहरूले भिडियोसँगै लेखेका छन्, ‘टक्सिक’ बाट प्रस्तुत गर्दछौँ राया ।’

फिल्म रिलिज हुन अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । तर निर्माताहरूले बिस्तारै फिल्मको चर्चा गर्न थालिसकेका छन् । फिल्मका पाँच अभिनेत्रीहरूको ‘फस्ट लुक्स’ केही अघि सार्वजनिक भएको थियो । जसमा कियारा आडवाणी, हुमा कुरैशी, तारा सुतारिया, नयनतारा र रुक्मिणी वसन्त सामेल छन् ।

गीतु मोहनदासद्वारा निर्देशित ‘टक्सिक’ १९ मार्चमा रिलिज हुँदैछ । सुरुमा डिसेम्बर सन् २०२५ मा रिलिज हुने भनिएको फिल्म पोस्ट–प्रोडक्शनको काम नसकिएका कारण सरेर अब १९ मार्चमा पुगेको हो ।

कमेन्टहरु