चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने


नारायणगढ, (चितवन), पुस २३। ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो ।
भुसालका अनुसार बजार मूल्यका आधारमा बिक्रीयोग्य फोहरको मूल्य निर्धारण गरिनेछ । “घरमा एकै दिन धेरै फोहर जम्मा हुँदैन र सबै प्रकारका फोहर बिक्रीयोग्य पनि हुँदैनन् । बिक्ने फोहरको पैसा दिइन्छ, औषधिजन्य वा प्रयोगमा नआउने खतरनाक फोहर छुट्टै व्यवस्थापन गरिन्छ”, भुसालले भन्नुभयो ।
चाउचाउ, बिस्कुट, गुट्खालगायत प्लास्टिकजन्य फोहरबाट टायल, इन्टरलक, टाँकजस्ता निर्माण सामग्री उत्पादन हुने भएकाले वातावरणमा बढी असर पार्ने यस्ता फोहरलाई नगरपालिकाले अन्य फोहरभन्दा महँगो मूल्यमा किन्ने प्रशासकीय अधिकृत भुसालले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार ती फोहर लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा रहेको प्लान्टमा पठाउने योजना बनाइएको छ । “यस्ता फोहर बढी हुने भएकाले वातावरणमा असर पर्छ, त्यसैले सरसफाइमा टेवा पुग्नेगरी ती फोहर किन्ने व्यवस्था गरेका हौँ”, उहाँले थप्नुभयो ।
भुसालले यस ढाँचाले फोहर व्यवस्थापन थप प्रभावकारी हुने र नागरिकमा सरसफाइ तथा फोहर छुट्टयाउने बानी विकास हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले योजना कार्यान्वयनको तयारी गरिरहेको बताउँदै हाल टोल विकास संस्थाहरूलाई अभिमुखीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
माडी नगरपालिकामा दैनिक करिब आठ टन फोहर सङ्कलन हुने गर्दछ । पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड तथा दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले घेरिएको हरियाली उपत्यका तथा जैविक विविधताले सम्पन्न माडीमा करिब १० हजार घरधुरी बसोबास गर्दै आएका छन् ।























