भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिन्छ: ट्रम्प


वासिङ्टन डीसी , पुस २३ । भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले भेनेजुएलामाथि तेल निर्यातमा लगाएकोे प्रतिबन्धका कारण ढुवानी जहाजहरूमै थन्किएर बसेको तेल बजार मूल्यमा बेचिने ट्रम्पको भनाइ छ । यसबाट आउने रकम भेनजुएला र अमेरिकी जनताको हितको काममा प्रयोग गरिने उनले बताएका छन् ।
विश्व बजारको अहिलेको अवस्था ५ करोड ब्यारेल अतिरिरक्त तेल आउनुको अर्थ आपूर्ति बढ्नु हो । अहिले विश्वको दैनिक तेल खपत १० करोड ब्यारेल छ । अमेरिका एक्लैले १ करोड ४० लाख ब्यारेल तेल उत्पादन गर्छ । ‘३ देखि ५ करोड ब्यारेल तेल कहिलेसम्म आउँछ ?’ भन्ने चाहिँ महत्वपूर्ण प्रश्न भएको ह्युष्टनस्थित बेकर इन्ष्टिच्यूटका ऊर्जा विज्ञ मार्क फिन्ले भन्छन् । यो परिमाणको तेल दैनिक वा मासिक रुपमा बजारमा आउनु भनेको तेलको उपलब्धता झनै बढ्नु हो । तर वर्षदिनमा यति तेल बजारमा आउनुले खासै ठुलो अर्थ राख्दैन ।


















