तीन बर्षमा सक्ने केरुङ्गे खोलाको पुल, आठ वर्षमा नब्बे प्रतिशत मात्र काम


नवलपुर, पुस २३ । नवलपुरको कावासोती नगरपालिकामा निर्माण भइरहेको केरुङ्गे खोलाको पुल आठ वर्षको अवधिमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कावासोती नगरपालिकाका वडा नम्बर ३, ४ र ५ लाई जोड्ने पुलको आठ वर्षमा ९० प्रतिशत काम सम्पन्न भएको हो ।
केरुङ्गे खोलाको पुल तीन वर्षमा सक्ने गरी २०७५ सालमा सुरु भएको पुल निर्माणको काम अहिले ९० प्रतिशत सकिएको कावासोती नगरपालिका–४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो ।
२०७७ साल असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा सम्झौता भएपनि निर्माणको काम अलपत्र पारेर पटक पटक ठेकेदार सम्पर्कविहीन भएपछि निर्धारित समयमा पुल सम्पन्न हुन नसकेको हो । पुलको माथिल्लो भाग कालोपत्रे भएर आवतजावत गर्न मिल्ने भए पनि पुललाई जोड्ने दायाँबायाँ बाटो कालोपत्रे भएको छैन भने तटबन्ध निर्माण र ग्याबिन पर्खाल लगाउने काम पनि बाँकी छ ।
पुलको तटबन्ध निर्माण नहुँदा तटीय क्षेत्रमा डुबानको जोखिम रहेको भन्दै वडाध्यक्ष लोहनीले तत्काल निर्माणको काम थालनी गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । पुल निर्माण नहुँदा बर्खाको समयमा विद्यार्थी, हुप्सेकोट र कावासोतीका व्यावसायिक किसानलाई सबैभन्दा बढी समस्या हुने गरेको छ ।























