चालू खर्च घटाउन सचिवहरूलाई गण्डकी प्रदेशका अर्थमन्त्री बरालको निर्देशन


पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले सचिवहरूलाई निर्देशन दिएका छन् । आर्थिक बर्ष २०७८/०७९ को बजेट कार्यान्वय सम्बन्धमा प्रदेशमा रहेको विभिन्न मन्त्रालयका सचिवहरूसँग आइतबार अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै मन्त्री बरालले सिमित श्रोत साधनका बाबजुद पनि अधिकतम प्रतिफल दिनेगरी लाग्न निर्देशन दिएका हुन् ।
कार्यक्रमा मन्त्री बरालले विनियोजन गरिएको बजेट सम्बन्धित योजनामा निश्चित समयभित्र कार्यन्वयन हुन अवस्था नदेखिएमा अविलम्ब सलेण्डर गरी आवश्यकताअनुरुप विनियोजन गर्न समेत निर्देशन दिएका छन् ।
अर्थमन्त्री बरालले न्यून बजेटका बावजुद पनि प्रतिफल प्राप्त गर्नका लागि इमान्दारीपूर्वक लाग्दै, बेरुजु कम गरी श्रोत साधनको अभावका बीच कुनै पनि कार्यलाई तत्काल अघि बढाउनुपर्ने अबस्था आएमा तत्कालै अघि बढाउनुपर्ने बताए ।
उनले चालु खर्च घटाउने बिषयमा गम्भिर हुन आग्रह गर्दै जनतालाई सेवा छिटो छरितो, पारदर्शी र सुशासन कायम गर्न समेत केन्द्रित हुने गरी कार्य गर्न आग्रह गरे । कार्यक्रममा चालू खर्चमा बृद्धि, बहुवर्षीय योजनामा बजेट कम हुँदा समस्या आउनुका साथै योजना प्रथामिकीकरण गर्ने समस्या, प्राकृतिक प्रकोपबाट क्षति पुगेका पूर्वाधारमा न्यून बजेट र बेरुजुमा बृद्धि लगायतका समस्याले बजेट कार्यान्वयनमा थप समस्या भएको सचिवहरुले मन्त्री समक्ष गुनासो गरेका थिए ।
कार्यक्रममा ११ वटै मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा करिब ७३.६३ प्रतिशत कार्यप्रगति भएको अर्थ मन्त्रालयका सचिव रमेश केसीले बताए । उनका अनुसार गत बर्ष १२.७ प्रतिशत अर्थात १ अर्ब ६४ करोड बेरुजु देखिएको छ । १३ अर्ब खर्च हुँदा उक्त बेरुजु देखिएको मन्त्रालयले जनाएको छ ।






















