मुख्य समाचार, यातायात, समाचार, सुदुरपश्चिम प्रदेश

पुल सञ्चलान नहुँदा आवतजावत सास्ती

उमेश रोकाया
२०८२ पुस २२ | मध्यान्ह ०९:०९ बजे

‎बाजुरा, पुस २२ । बाजुरा जिल्लाको खप्तड छेडेदह –३ र बूढीगङ्गा नगरपालिकाका –४ को बीचमा पर्ने बार्जुगाड खोलामा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई खोला तर्न निकै सास्ती हुने गरेको छ । यहाँको बेतालमाण्डौ , झाली , पुडावाउला , बानेगाउँ , गुइवन हुँदै आटीचौर सडकमा सवारी साधानलाई आउजाउमा सहज हुने गरी २०७६  साल अछामको साउँद एडभेन्चर जेभीले झण्डै २ करोड रुपियाँमा ४५ मिटर लम्बाई पुल निर्माण कार्यको जिम्मा लिएर २०८१ मा काम सम्पन्न भएको थियो ।

अहिले पुल निर्माण भएको झण्डै एक वर्ष भएपनि त्यो पुलको दुइ साईडमा ग्याविन नभरेका कारण पुल सञ्चालनमा आउन नसकेपछि यहाँको स्थानीय स्तरमा चल्ने सवारी साधानहरुलाई वर्खाको समय आउजाउमा निकै सास्ती हुने गरेको हो ।

‎खप्तड छेडेदह गाउँपालिका –३ पुडावाउँलाबाट विद्यार्थीहरु बुढीगङ्गा नगरपालिका –५ मा रहेको भानोदय माविमा पढ्न जाने गर्छन् । वर्खाको समय यो बार्जुगाड खोला निकै उर्लेर आउने गरेकोले उनीहरुलाई आउजाउमा समस्या हुन्छ । खोलामा पुल नभएकै कारण २०८० साल असार १० गते खप्तड छेडेदह गाउँपालिका –४ ग्वानीकी अन्दाजी २३ वर्षीया सङ्गिता साउँदले अकालै ज्यान गुमाउुन परेको थियो । ‎यहाँका स्थानीयको  वर्षेनी यही समस्याका कारण सरकारले २०७६ साल असार बार्जुगाड खोलामा ४५ मिटर पक्की पुल निर्माणको काम सुरु गरेको हो ।

‎दुइ वर्षमा काम सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण २०८१ मा मात्र त्यो पुल निर्माणको काम सम्पन्न भयो । पुलको दुबै साईड तिर भरान नभरेकोले सञ्चालन भने अँझै हुन नसकेको बुढीगङ्गा नगरपालिका –४ बाँनेगाउँकी सामाजिक अभियन्ता गोमती कटुवालले बताउनुभयो ।

‎उहाँले भन्नभुयो, “ यता बानेगाउँका र पुडावाउँलाका स्थानीयहरुलाई प्राय यो खोला दैनिक वारपार गर्नु पर्छ । हिउँदको महिना खोलामा पानी कम हुने भएकोले वारपार गर्न सहज हुने गरेको भएपनि वर्खाको समय त्यो खोला निकै उर्लेर आउने गरेको तर्न समस्या हुन्छ । ”

‎अहिले लामो समय देखि पुल त बन्यो तर अँझै सञ्चालनमा भने आउन सकेन । ‎यो पुल सञ्चालनमा नआउदाँ यहाँका स्थानीयका लागि यो पुल हात्ती आयो हाती आयो फुस भने झै भएको कटुवालले बताउँनुभयो । यता पुल निर्माणको काम सम्पन्न भएकोले अब मेरो कुनै जिम्मेवारी नरहेको पुलको जिम्मा लिएका साउँद एडभेन्चर जेभीका प्रोपराइटर ईश्वर साउँदले बताउनुभयो ।

‎पुल निर्माणको काम बल्ल सम्पन्न भयो । अब त्यो पुलको वारिपारीमा ग्याबीन राख्नु पर्ने छन् । गत वर्षमा बीस लाख रुपियाँले एक साईडको ग्याबिन भरेको थियो । अहिले पनि त्यसैको हाराहारीमा रकम छुट्याएको छ । केही दिनमा ठेक्का दिएर काम सुरु हुन्छ । यो वर्षमा जसरी भएपनि त्यो पुल सञ्चालनमा ल्याउने तयारी भएको भौतिक पुर्वाभार विकास कार्यालय अछामका कार्यालय प्रमुख जगबहादुर थापाले बताउनुभयो ।

कमेन्टहरु