रोजेनियर चेल्सीको मुख्य प्रशिक्षक बन्ने, मौखिक सहमति भएको खुलासा


लण्डन । फ्रान्सेली क्लब स्ट्रासबर्गका प्रशिक्षक लिआम रोजेनियरले इंग्लिस क्लब चेल्सीको मुख्य प्रशिक्षक बन्ने विषयमा मौखिक सहमति भएको बताएका छन्। ४१ वर्षीय बेलायती प्रशिक्षक रोजेनियरले जनवरी १ मा पद त्याग गरेका एन्जो मारेस्काको स्थान लिनेछन्। चेल्सी र स्ट्रासबर्ग दुवै क्लब अमेरिकी व्यवसायी टोड बोयलीको ‘ब्लुको’ समूहको स्वामित्वमा रहेका छन्। प्रेस सम्मेलनका क्रममा रोजेनियरले आफूले अझै सम्झौतामा हस्ताक्षर नगरेको तर सबै कुरा टुङ्गिसकेकाले आगामी केही घण्टाभित्रै प्रक्रिया पूरा हुने जानकारी दिएका छन्।
उनले क्लब विश्वकप विजेता जस्तो अविश्वसनीय टोली र क्लबसँग जोडिने अवसरलाई नकार्न नसकेको बताए। रोजेनियरसँगै स्ट्रासबर्गका प्रशिक्षक खलिफा सिसे, सहायक प्रशिक्षक जस्टिन वाकर र विश्लेषण प्रमुख बेन वार्नर पनि चेल्सी जाने भएका छन्।
सन् २०२४ जुलाईमा स्ट्रासबर्ग सम्हालेका रोजेनियरले टोलीलाई लिग वानको सातौँ स्थानमा पुर्याउँदै आठ वर्षपछि पहिलो पटक युरोपेली फुटबलका लागि छनोट गराएका थिए। उनको प्रशिक्षणमा स्ट्रासबर्ग हाल कन्फरेन्स लिगको शीर्ष स्थानमा रहेको छ। उनले स्ट्रासबर्गमा बिताएको १८ महिना आफ्नो व्यावसायिक करियरकै उत्कृष्ट समय भएको बताउँदै समर्थकहरूसँग बिदा मागेका छन्।
यसअघि डर्बी काउन्टी र हल सिटी जस्ता च्याम्पियनसिप क्लबहरू सम्हालेका रोजेनियरको प्रिमियर लिगमा यो पहिलो अनुभव हुनेछ। चेल्सी हाल प्रिमियर लिगको पाँचौँ स्थानमा छ र बुधबार फुलहमसँग प्रतिस्पर्धा गर्दैछ।























