ग्रीनल्याण्डमाथि अमेरिकी आँखा : डेनमार्कद्वारा नाटो नै अन्त्य हुने चेतावनी


ओस्लो । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यदि संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डलाई अधिग्रहण गर्ने प्रयास गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को अस्तित्व नै समाप्त हुने गम्भीर चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक र खनिज स्रोतले सम्पन्न ग्रीनल्याण्ड टापुलाई अमेरिकी नियन्त्रणमा ल्याउनुपर्ने अभिव्यक्ति दिएपछि डेनमार्कले यस्तो प्रतिक्रिया जनाएको हो।
राष्ट्रपति ट्रम्पले आइतबार ‘२० दिनपछि ग्रीनल्याण्डबारे कुरा गरौँ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि निकट भविष्यमै अमेरिकी हस्तक्षेप हुनसक्ने आशङ्का चुलिएको छ। ट्रम्पले रुस र चीनको उपस्थितिलाई कारण देखाउँदै ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अनिवार्य भएको दाबी गरेका छन्। उनले डेनमार्कको सुरक्षा प्रयासमाथि व्यङ्ग्य गर्दै आर्कटिक क्षेत्रमा ‘अर्को कुकुर स्लेज’ थपिएको टिप्पणी समेत गरेका थिए।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले आफ्नो देशलाई भेनेजुएलासँग तुलना गर्न नमिल्ने बताउँदै अमेरिकी दाबीको कडा निन्दा गरेका छन्। डेनमार्क र अमेरिकाबीच सन् १९५१ देखि नै रक्षा सम्झौता रहेको र ग्रीनल्याण्डको पिटुफिकमा अमेरिकी स्पेस बेस समेत सञ्चालनमा छ। तर पछिल्लो समय अमेरिकाले डेनमार्कका हवाई अड्डाहरूमा आफ्नो पहुँच विस्तार गर्न खोज्दा डेनिस सार्वभौमिकतामाथि प्रश्न उठ्न थालेको छ। ट्रम्पको सम्भावित सैन्य वा राजनीतिक दबाबलाई लिएर युरोपेली नेताहरूले डेनमार्कप्रति ऐक्यबद्धता जनाएका छन्।























