टिकटकमा धर्म संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणीपछि खलबलियो मधेसको सद्भाव


पर्सा । टिकटकमा एक अर्काका धर्म संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेस प्रदेशमा तनाव बढेको छ। धनुषाबाट सुरु भएको टिप्पणीको प्रभावले सोमबार पर्साको वीरगन्ज दिनभर तनावग्रस्त बनेपछि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ।
धनुषा र पर्सासहित मधेस प्रदेशका आठ वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। यी जिल्लाका स्थानीय प्रशासनले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको जनाएको छ। केही दिनअघि जनकपुरधाममा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोस्ट गरेका थिए। धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरूले प्रहरीको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबिच छलफल भइरहेका बेला ती युवाहरूलाई पक्राउ गरिएको भन्दै केही युवा आक्रोशमा आए। त्यही बेला मस्जिदमा आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए। सोही घटनालाई लिएर वीरगन्जमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भयो। प्रदर्शनलाई मध्यनजर राखेर वीरगन्जमा व्यापक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।
नेपाली सेना पनि सडकमा देखिएका छन्। निषेधाज्ञाबिच पनि दुई समूहको प्रदर्शन नरोकिएपछि वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। यसअघि दिउँसो निषेधाज्ञाबिच दुवै पक्षले ठाउँ ठाउँमा प्रदर्शन नरोकेपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताए।
यस अवधिमा आवतजावत, भेला, जुलुस, सभा, बैठकलगायत गर्न नपाइने र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। कर्फ्युअघि लगाइएको निषेधाज्ञा अवज्ञा गर्दै वीरगन्जका विभिन्न ठाउँबाट निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गर्ने दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका २६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको थियो।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीका अनुसार निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको छ। ‘प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने र उग्र गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइएको छ,’ डिएसपी कार्कीले भने। उनले नियन्त्रणमा लिइएका प्रदर्शनकारीहरू सबै समुदायका रहेको पनि स्पष्ट पारेका छन्।























