मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

विज्ञापन र शैक्षिक गुणस्तरप्रति आपत्ति जनाउँदै प्रधानाध्यापकलाई ज्ञापनपत्र

उमेश रोकाया
२०८२ पुस २१ | मध्यान्ह ०६:०९ बजे

राजेन्द्र विक

‎बाजुरा, पुस २१ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ स्थित कैलाश्वरी माध्यमिक विद्यालय, मनामा शैक्षिक गुणस्तर र विद्यालयको गतिविधिसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराउँदै प्रधानाध्यापकलाई ज्ञापनपत्र बुझाइएको छ।

ज्ञापनपत्रमा गुणस्तरीय शिक्षा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै विद्यालयले हाल सञ्चालन गरिरहेका केही गतिविधि तथा सार्वजनिक रूपमा गरिएको विज्ञापनप्रति गम्भीर आपत्ति जनाइएको छ। विद्यालयको नाम र प्रतिष्ठासँग जोडिएका विषयहरू सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार गर्दा सत्य, स्पष्ट र जिम्मेवार हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ।

ज्ञापनपत्रमा विद्यालयले विज्ञापन गर्दा गोप्य रूपमा, अस्पष्ट र भड्काउने शैली अपनाइएको आरोप लगाउँदै त्यसले विद्यार्थी, अभिभावक र आम नागरिकमा भ्रम सिर्जना गरेको उल्लेख छ। साथै विद्यालयमा नियमविपरीत कार्य भएको खण्डमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग पनि गरिएको छ।

विद्यालयमा रिक्त रहेका प्राथमिक तहका राहत शिक्षकको विषयमा समेत यथार्थपरक सूचना सार्वजनिक गर्न र शिक्षा सुधारतर्फ गम्भीर हुन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। ज्ञापनपत्रमा समाजका सचेत नागरिकको तर्फबाट शैक्षिक गुणस्तरका लागि आवाज उठाउनु आवश्यक देखिएकाले ध्यानाकर्षण गराइएको उल्लेख छ। उक्त ज्ञापनपत्रमा स्थानिय युवा दिनेश साउद,नेत्र थापा र शंकर साउदले आम अभिभावकहरुको नेतृत्व गर्दै हस्ताक्षर गर्नुभएको छ । विद्यालय प्रशासनले ज्ञापनपत्रमा उठाइएका विषयप्रति कस्तो धारणा बनाउँछ र आगामी दिनमा के निर्णय लिन्छ भन्ने विषयलाई स्थानीयले चासोका साथ हेरिरहेका छन् ।

कमेन्टहरु