चितवनमा एप मार्फत १२ करोडभन्दा बढी ठगी गरेको आरोपमा, चिनियाँसहित ११ जना पक्राउ


चितवन, पुस २१ । एड्भरटाइजिङ सर्भिस प्रालि सेन्टर (एसएमसी) नामक कम्पनीको आधारमा नेटवर्क विस्तार गरेर अनलाइन स्क्यामिङ गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकसहित १० जनाको गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जियाङ, रामेछापका मिलन श्रेष्ठ, तनहुँ बन्दिपुरका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवन खैरहनीका सोनम खातुन, काठमाडौं टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नसिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बारा कलैयाका राम निवास प्रसाद छन् ।
चितवनको खैरहनीमा एसएमसी खडा गरेर नेपाली नागरिकलाई एप्लिकेसनमार्फत् नेटवर्कमा जोड्दै ठगी गरेको आरोप छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धानबाट यो गिरोहले नेपालभर ७० हजार बढी नागरिकलाई नेटवर्कमा जोडेका छन् । प्रहरीमा परेको निवेदन अनुसार हालसम्म दुई सय ५५ पीडितबाट यो गिरोहले १२ करोड ८ लाख १६ हजार तीन सय ७२ रूपैयाँ ठगी गरेको देखिन्छ । गिरोहले एउटै परिवारका धेरै सदस्यलाई ठगी गर्दै आएका थिए ।उनीहरूले विश्वप्रशिद्ध फिल्म कम्पनी युनिभर्सल, वार्नर वोस र डिजनी जस्तासँग सहकार्य रहेको भन्दै चलचित्रको विज्ञापन गरेबापत पैसा पाइने झुटो आश्वासन दिएर एसएमसी नामक मोबाइल एपमा आबद्ध गराएका थिए ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार पिरामिड संरचना बनाएर यो गिरोहले सर्वसाधरणलाई ठगी गर्दै आएका थिए । यो गिरोहले सदस्यलाई तीन तहमा विभाजन गरेर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसनको लोभ देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अवस्थीका अनुसार यो गिरोहले एप्लिकेसनमा जोडिएका सर्वसाधरणलाई लेभल ए भनेर निक्षेपमा १२ प्रतिशत कमिसन र दैनिक कामको पाँच प्रतिशत मुनाफा, लेभल बीलाई ४ प्रतिशत कमिसन र दैनिक कामको २ प्रतिशत मुनाफा, लेभल सीलाई निक्षेपमा एक प्रतिशत कमिसन र दैनिक कामको एक प्रतिशत मुनाफा वितरण गर्ने आश्वासन दिइएको थियो।
ब्यूरोले पक्राउ परेकाविरुद्ध संगठित अपराध सजाय ऐन, २०७० र मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ । ब्यूरोले ठगीबाट बच्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
साइबर ब्यूरोको अनुरोध –
–उजुरी गर्नुहोस् । यदि तपाईं वा तपाईंको परिवार यस एसएमसी एप वा यस्तै अन्य कुनै अनलाइन टास्कमा ठगिनुभएको छ भने तुरुन्त आफ्ना प्रमाण (डिजिटल स्क्रीनसट, बैंक ट्रान्सफर भौचर)सहित यस कार्यालय वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुहोस् ।
–खाता बन्द गर्नुहोस् । आफ्नो बैंक खाता वा क्यूआर कोड थोरै कमिसनको लोभमा अपरिचित व्यक्तिलाई प्रयोग गर्न दिनु अपराध हो । आपराधिक समूहको लागि यस्तो गैरकानूनी कार्यमा संलग्न हुनु कानून विपरीतको कार्य भएकोले तत्काल त्यस्ता बैंक खाता बन्द गर्नुहोस् र खाता खोल्न लगाउने व्यक्तिविरूद्ध यस कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा गोप्य रूपमा उजुरी गर्नुहोस् ।
–आफ्ना खाता तथा क्यूआर विवरण शेयर नगर्नुहोस् । आफ्ना वित्तीय विवरणहरू अपरिचित व्यक्ति वा आर्थिक प्रलोभनमा शेयर नगर्नुहोस् । बैंक खाताहरू तथा वालेट एकाउन्टहरू दुरूपयोग हुनसक्छ ।
–प्रलोभनको पछि नलाग्नुहोस् । घरमै बसी भिडियो हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने ‘कुनै पनि कम्पनीको अनलाइन प्रोमोशन गरेबापत अनलाइन पैसा कमाइने’ जस्ता विज्ञापनमा क्लिक गर्नुभन्दा आधिकारिकता जाँच गर्नुहोस् । यस्ता विज्ञापन ठगी गर्ने गिरोहले फैलाएको जालो हुनसक्छ, होसियार हुनुहोस् ।























